काठमाडौं । नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएकी एक महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।मंगलबार बिहान काठमाडौं महानगरपालिका–१० स्थित पुरानो संसद् भवन नजिकै जुम्लाको तातोपानी गाउँपालिका घर भएका २७ वर्षीय राज कठायतले महिला ट्राफिक प्रहरी जवानमाथि आक्रमण गरेका हुन्।
प्रहरीका अनुसार बानेश्वर चोकस्थित आकाशेपुल प्रयोग गरी बाटो काट्न आग्रह गर्दा कठायत र महिला ट्राफिक प्रहरीबीच विवाद भएको थियो। विवादका क्रममा कठायतले प्रहरीमाथि हातपात गरेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले सडकमा ड्युटी गरिरहेकी प्रहरीमाथि आक्रमण गर्ने युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए।
घटनापछि कठायतलाई प्रहरी हिरासतमा राखिएको छ भने घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

