मंगलबार, ९ भदौ २०८३ | ९:२० PM
२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन सुरु

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन सुरु

लगानीबक्स ९ भदौ २०८३ ८:२५ अपराह्न

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द रहेको ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइएको छ।

मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार वीरगन्जस्थित चिनी मिलको स्थलगत निरीक्षण गर्दै कारखानाको भौतिक संरचना, मेसिनरी तथा उपकरणहरूको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरेको हो।

सिडिई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले मिलको वर्तमान अवस्था, सञ्चालन सम्भावना तथा आवश्यक लगानीका विषयमा अध्ययन गरी १५ दिनभित्र विस्तृत प्रतिवेदन सरकारसमक्ष पेस गर्ने जनाएको छ।

लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी मिल पुनः सञ्चालनका लागि सरकारले चासो देखाएसँगै स्थानीयवासी तथा उद्योग क्षेत्रले सकारात्मक अपेक्षा व्यक्त गरेका छन्। कार्यदलको प्रतिवेदनपछि मिल पुनः सञ्चालनका लागि आवश्यक नीतिगत तथा प्राविधिक निर्णय अघि बढ्ने विश्वास गरिएको छ।