काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण टिमुरे क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको अनुमान गरिएको छ।
सशस्त्र प्रहरी बलका अनुसार रसुवाको टिमुरेस्थित बोर्डर आउट पोस्ट (बिओपी) सुरक्षित रहेको छ। तर, कार्यक्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीको टोलीसँग सम्पर्क हुन नसकेको जनाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको जानकारी दिँदै प्रभावित क्षेत्रमा खटिएका प्रहरी टोलीको अवस्था बुझ्ने प्रयास जारी रहेको बताए।
“टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर ड्युटीमा खटिएको टोलीसँग सम्पर्क हुन सकेको छैन,” सहप्रवक्ता थापाले भने।
बाढी प्रभावित क्षेत्रमा रहेका सुरक्षाकर्मी तथा स्थानीयवासीसँग सम्पर्क स्थापित गरी क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। साथै, सम्भावित उद्धार तथा राहत कार्यका लागि आवश्यक तयारीसमेत तीव्र पारिएको बताइएको छ।
बाढीका कारण भएको क्षति र सम्पर्कविहीन प्रहरी टोलीको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

