काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। विपद्मा परेका नागरिकको सुरक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० तथा सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। सडक सञ्जाल अवरुद्ध भएका कारण उद्धार टोलीले हवाई तथा पैदल दुवै मार्गबाट अभियान सञ्चालन गरिरहेका छन्।
स्थलगत पहुँच कठिन भएका क्षेत्रमा नेपाली सेना र निजी हवाई कम्पनीका हेलिकप्टरमार्फत ६९ उडान गरी ३५१ जनाको सुरक्षित उद्धार गरिएको छ। प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद सुरक्षाकर्मीहरूले निरन्तर खोज तथा उद्धार कार्य जारी राखेका छन्। स्थानीय प्रशासनले बाँकी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ।
