काठमाडौं। भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल बैंकर्स संघ (सिबिफिन) ले गहिरो दुःख व्यक्त गरेको छ। संघले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
सिबिफिनले बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गर्दै राहत तथा उद्धार कार्यमा खटिएका सबै निकाय र व्यक्तिहरूप्रति सम्मान व्यक्त गरेको छ।
संघका अनुसार बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा, बैंकिङ पूर्वाधार, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट आयातित मालवस्तु र सवारीसाधनमा ठूलो क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले यसको असर ऋणी, व्यवसाय, बैंकिङ सेवा र समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने जनाएको छ।
सिबिफिनले प्रभावित क्षेत्रमा बैंकिङ पहुँचलाई यथाशीघ्र सहज बनाउन वैकल्पिक सेवा प्रवाहसहित आवश्यक व्यवस्था मिलाइरहेको जानकारी दिएको छ। साथै, वास्तविक क्षतिको मूल्याङ्कन गरी कर्जा पुनर्तालिकीकरण, पुनर्संरचना, किस्ता तथा ब्याज भुक्तानीमा सहजीकरण र व्यवसाय पुनःसञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउन सदस्य संस्थाहरूसँग समन्वय गरिने जनाएको छ।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्दै आवश्यक नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्न आफूहरू प्रतिबद्ध रहेको सिबिफिनले उल्लेख गरेको छ। साथै, उद्धार, राहत, पुनर्स्थापना तथा आर्थिक पुनरुत्थानका लागि सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र सरकारसँग हातेमालो गर्न तयार रहेको जनाएको छ।
