शनिबार, २४ असोज २०८३ | ९:४४ AM
नाडाद्वारा भोटेकोसी बाढीपीडितका लागि १० लाख सहयोग

नाडाद्वारा भोटेकोसी बाढीपीडितका लागि १० लाख सहयोग

लगानीबक्स १२ भदौ २०८३ ११:१५ अपराह्न

काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीद्वारा जारी विज्ञप्तिमा बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ । बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

नाडाले विपद्को समयमा राज्यसँग सहकार्य गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा योगदान गर्नु सबै नागरिकको साझा दायित्व भएको जनाएको छ। साथै, देशभरका अटोमोबाइल व्यवसायीलाई एकताबद्ध भएर राहत तथा उद्धार कार्यमा सहयोग गर्न आह्वान गरेको छ ।

नाडाले सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले विपद्पछि देखाएको सक्रियताको प्रशंसा गर्दै सरकार तथा निजी क्षेत्रबीच थप समन्वय आवश्यक रहेको जनाएको छ ।

यसैबीच, नाडा अटो शो २०२६ भने भृकुटीमण्डपमा नियमित रूपमा सञ्चालनमा रहने नाडाले स्पष्ट पारेको छ । आर्थिक गतिविधि चलायमान राख्दै विपद्सँग पनि सामना गर्नुपर्ने भएकाले अटो शो निरन्तर सञ्चालन गर्ने निर्णय गरिएको नाडाको भनाइ छ ।