शनिबार, २४ असोज २०८३ | ९:४४ AM
भोटेकोशी विपत्तिपछि पनि भाडादर नबढाएको बुद्ध एयरको स्पष्ट, वेबसाइटबाट टिकट…

भोटेकोशी विपत्तिपछि पनि भाडादर नबढाएको बुद्ध एयरको स्पष्ट, वेबसाइटबाट टिकट किन्दा थप रु. ३०० छुट

लगानीबक्स १३ भदौ २०८३ ९:११ पूर्वाह्न

काठमाडौं । भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति गम्भीर संवेदना व्यक्त गर्दै बुद्ध एयरले आफ्नो हवाई भाडादरमा कुनै वृद्धि नगरेको स्पष्ट पारेको छ।

कम्पनीले जारी गरेको सूचनामा यात्रुहरूलाई टिकट खरिद गर्नुअघि आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत भाडादर खोजी गर्न आग्रह गरेको छ। बुद्ध एयरका अनुसार वेबसाइट तथा मोबाइल एपमा पहिलेकै जस्तो सहज र सुलभ भाडादर उपलब्ध रहेको छ।

कम्पनीले भैरहवा, पोखरा र भरतपुर गन्तव्यका लागि नियमित अतिरिक्त उडान सञ्चालन गरिरहेको जनाएको छ। साथै, वेबसाइट वा मोबाइल एपबाट टिकट खरिद गर्ने यात्रुले थप रु. ३०० छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको पनि जनाएको छ।

बुद्ध एयरले राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि गृहमन्त्रालयको निर्णयअनुसार निःशुल्क सेवा उपलब्ध गराएको जानकारी दिएको छ। सडक यातायात पूर्ण रूपमा सहज नभएसम्म हाल कायम रहेको भाडादर यथावत् रहने कम्पनीको भनाइ छ।

वर्तमान विषम परिस्थितिमा व्यावसायिक चुनौतीहरूका बाबजुद यात्रुलाई सहज तथा सस्तो भाडादर उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै कम्पनीले अत्यधिक महँगो दरमा टिकट बिक्री भइरहेको जानकारी पाएमा तत्काल सूचित गर्न अनुरोध गरेको छ। यस्ता गतिविधिविरुद्ध आवश्यक तथा कडा कारबाही गरिने बुद्ध एयरले जनाएको छ।