शनिबार, २४ असोज २०८३ | ८:५१ AM
काठमाडौंमा ग्यास अभाव हटाउन हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास…

काठमाडौंमा ग्यास अभाव हटाउन हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइँदै

लगानीबक्स १८ भदौ २०८३ १२:१२ अपराह्न

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा लेदो जमेर सडक अवरुद्ध भएको र त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्णरूपमा बन्द हुँदा एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौं उपत्यकामा प्रवेश गर्न नसकेका छन्। त्यसका कारण केही दिनयता उपभोक्ताले ग्यास अभावको समस्या भोग्दै आएका छन्।

उक्त समस्याप्रति मन्त्रालय गम्भीर र संवेदनशील रहेको जनाउँदै नेपाल आयल निगम, एलपी ग्यास उद्योगी तथा व्यवसायी तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहकार्य भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार आजदेखि हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास वैकल्पिक सडकमार्फत काठमाडौं उपत्यकामा पठाई वितरण गर्ने व्यवस्था सुरु गरिएको छ। पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआएसम्म वैकल्पिक मार्गबाट ग्यास आपूर्ति निरन्तर जारी राखिने मन्त्रालयले जनाएको छ।

नेपाल आयल निगम तथा ग्यास व्यवसायीसँगको सहकार्यबाट काठमाडौं उपत्यकामा देखिएको ग्यास अभावको समस्या आगामी केही दिनभित्र क्रमशः समाधान हुँदै जाने विश्वास मन्त्रालयले व्यक्त गरेको छ। मन्त्रालयले विपद्को कठिन अवस्थामा नागरिकको दैनिक जीवनमा थप असहजता हुन नदिन आपूर्ति व्यवस्थालाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक सबै पहल भइरहेको उल्लेख गर्दै ग्यास आपूर्तिमा कुनै कमी हुन नदिन प्रतिबद्ध रहेको जनाएको छ।