शनिबार, २४ असोज २०८३ | ८:०२ AM
बाढीपहिरो पीडितका लागि हिमालयन लाइफको ५१ लाख सहयोग

बाढीपहिरो पीडितका लागि हिमालयन लाइफको ५१ लाख सहयोग

लगानीबक्स १९ भदौ २०८३ ३:२० अपराह्न

काठमाडौं । विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। हिमालयन लाइफका अध्यक्ष नारायण बजाजले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य तथा खेतान ग्रुपका अध्यक्ष राजेन्द्र कुमार खेतानको समेत उपस्थिति रहेको थियो।
कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा ऐक्यबद्धता जनाउँदै सहयोग उपलब्ध गराएको जनाएको छ। प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्दै आएको हिमालयन लाइफले हालको सहयोगबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका कार्यमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

कम्पनीले विपद्बाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकार, निजी क्षेत्र, संघसंस्था तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ। साथै, आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

हिमालयन लाइफले बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।