काठमाडौं, २५ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो ।
बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नु आफैँमा गौरवको विषय भएको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रन आग्रह गर्नुभयो । उहाँले व्यक्तिगत प्रदर्शनसँगै राष्ट्रको प्रतिष्ठा र गौरवलाई ध्यानमा राखेर खेल्न खेलाडीलाई सुझाव दिनुभयो ।
“देशको प्रतिनिधित्व गरेर जान लाग्नुभएको छ। सीमित स्रोत र साधनका बाबजुद मेहनत गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,” मन्त्री पोखरेलले भन्नुभयो, “प्रतियोगितामा सहभागी हुनु जित्नकै लागि हो। तर जिते पनि नजिते पनि खेलाडीको सम्मान राज्यका तर्फबाट घट्ने छैन। अहिले जसरी बिदाइ गरिएको छ, भोलि जितेर आए पनि हारेर आए पनि त्यति नै सम्मानका साथ स्वागत गर्नेछौँ।”
उहाँले नेपाली खेलाडीमा पर्याप्त प्रतिभा र क्षमता रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा हासिल गर्न सरकारबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताउनुभयो। खेलाडीको क्षमता विकास, प्रशिक्षण, खेल पूर्वाधार तथा खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।
२११ सदस्यीय टोली जापान जाने जापानमा आगामी असोज ३ देखि १८ गतेसम्म आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट २११ सदस्यीय टोली सहभागी हुँदैछ । टोलीमा २१ खेलका १३५ खेलाडी रहेका छन्। तीमध्ये ५७ महिला र ७८ पुरुष खेलाडी छन्। टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टिमका ६ सदस्य, चार पत्रकार तथा विशिष्ट अतिथि, सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अधिकारीसमेत सहभागी हुनेछन् ।
नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि सहभागिता जनाउँदै आएको छ। पहिलो संस्करणमा एथलेटिक्सतर्फ मात्र नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक २१ खेलमा प्रतिस्पर्धा गर्नेछ ।
नेपालले एसियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ संस्करणमा जितेको थियो। त्यसयता नेपाल एसियाली खेलकुदबाट पदकविहीन भएर फर्किएको छैन ।
सरकारले खेलाडीको क्षमता विकासका लागि वैदेशिक प्रशिक्षण तथा अन्तर्राष्ट्रिय एक्सपोजरको व्यवस्था गर्दै आएको जनाएको छ । विदेशमा प्रशिक्षणरत केही खेलाडी त्यहीँबाट जापान पुग्नेछन् ।
नेपालमा रहेका खेलाडीलाई विदेशी प्रशिक्षकमार्फत प्रशिक्षण दिइएको छ । तीन वर्षदेखि विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई पछिल्लो दुई महिनादेखि बन्द प्रशिक्षणमा राखेर उच्चस्तरीय तयारी गराइएको जनाइएको छ ।
यसपटक कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी सहभागी हुनेछन्। क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ, बक्सिङमा सात तथा जुडो, एथलेटिक्स, टेबल टेनिस र कुस्तीमा समान छ–छ खेलाडी सहभागी हुनेछन् । खेल तालिकाअनुसार नेपाली खेलाडी जापान जाने क्रम सुरु भइसकेको छ । विभिन्न खेलका खेलाडी प्रतियोगिताको तालिकाअनुसार फरक–फरक मितिमा जापान पुग्नेछन् ।

