आइतबार, ४ असोज २०८३ | १२:२३ AM
ओरियण्टल होटल्सले असोज २९ गते बोलायो साधारण सभा

ओरियण्टल होटल्सले असोज २९ गते बोलायो साधारण सभा

लगानीबक्स ४ असोज २०८३ ४:४९ अपराह्न

काठमाडौं । आर्थिक वर्ष ०८०।८१ पछि लाभांश वितरण नगरेको ओरियण्टल होटल्स् लिमिटेडले आर्थिक वर्ष ०८२।८३ को लागि पनि लाभांश वितरण नगर्ने भएको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नराखी वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा विहान ११ बजे बोलाइएको छ ।

सभाका लागि गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती गर्ने प्रस्ताव तय भएको छ । यस कम्पनीले आर्थिक वर्ष ०७०।७१ देखि निरन्तर रुपमा लाभांश वितरण गर्दै आएकोमा ०८०।८१ पछि भने ब्रेक लागेको हो ।

लाभांश वितरणको इतिहासमा अधिकतम २६ दशमलव ३२ प्रतिशतसम्म लाभांश वितरण गरेको यस कम्पनीले पछिल्लो वर्ष भने ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको आधारमा असोज १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।