काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ। नयाँ नोट बजारमा आएसँगै यसको डिजाइन तथा सुरक्षा विशेषतामा गरिएको परिवर्तनबारे चासो बढेको छ।
राष्ट्र बैंकका अनुसार नयाँ १ हजार रुपैयाँको नोटको अगाडिको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १,००० तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख गरिएको छ।
नयाँ नोटमा विगतको तुलनामा विभिन्न सुरक्षा विशेषता थप तथा परिमार्जन गरिएको राष्ट्र बैंकले जनाएको छ। नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापको मुनि ‘ज्ञण्ण्ण्’ को अति पानीछापसमेत राखिएको छ।
त्यस्तै, नोटको दायाँतर्फ निलो रङमा ‘1000’ को केही अंश देखिने ‘See Through Register’ राखिएको छ। नोटलाई प्रकाशतर्फ पारेर हेर्दा उक्त अंक पूर्ण रूपमा देखिने व्यवस्था गरिएको छ।
नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा। डा। विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि।सं। २०६२’ उल्लेख गरिएको राष्ट्र बैंकले जनाएको छ।

