काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले यस वर्ष हालसम्मकै कम लाभांश वितरण गर्ने भएको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ७ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब ३ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
सोही पूँजीको आधारमा कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणको इतिहासमा अधिकतम ५० प्रतिशतसम्म लाभांश वितरण गरेको यस कम्पनीले पछिल्लो वर्ष हालसम्मकै कम लाभांश वितरण गर्न लागेको हो । आर्थिक वर्ष ०६८।६९ को मुनाफाबाट कम्पनीले सर्वाधिक ५० प्रतिशत लाभांश वितरण गरेको तथ्याङ्क छ । गत वर्ष भने कम्पनीले १८ दशमलव २ प्रतिशत लाभांश वितरण गरेको थियो ।

