बिहीबार, ८ असोज २०८३ | २:३१ PM
बुल मेसिन खरिदमा मुक्तिनाथ विकास बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

बुल मेसिन खरिदमा मुक्तिनाथ विकास बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

लगानीबक्स सम्वाददाता ८ असोज २०८३ १:२८ अपराह्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्ने ग्राहकलाई वित्तीय सुविधा उपलब्ध गराउने समझदारी भएको छ। समझदारीअनुसार ग्राहकले बुल मेसिनलाई नै धितो राखेर डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म कर्जा लिन सक्नेछन्। ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा भने बैंकको कर्जा मूल्यांकन तथा प्रचलित नीतिअनुसार इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्।

समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका गण्डकी क्षेत्र प्रमुख बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। समझदारीपछि निर्माण व्यवसायी, ठेकेदार, उद्यमी तथा निर्माण उपकरणमा लगानी गर्न चाहने व्यवसायीले बुल मेसिन खरिदका लागि मुक्तिनाथ विकास बैंकमार्फत वित्तीय सुविधा लिन सक्नेछन्। कर्जा सुविधा भने ग्राहकको वित्तीय अवस्था, कर्जा मूल्यांकन तथा बैंकको प्रचलित नीतिका आधारमा उपलब्ध हुनेछ।

थप स्थिर सम्पत्ति धितो उपलब्ध गराउने ग्राहकका लागि कर्जाको ब्याजदर तथा अन्य सर्त बैंकको प्रचलित नीतिअनुसार निर्धारण हुने जनाइएको छ। प्रकाशित विवरणअनुसार अतिरिक्त धितोबिना कर्जाको अवधि चार वर्षसम्म र थप धितोसहित सात वर्षसम्म हुन सक्नेछ।

अटोवेजकी प्रमुख कार्यकारी अधिकृत सन्ध्या पौडेलले निर्माण व्यवसायी तथा उद्यमीलाई उत्पादनशील सम्पत्तिमा लगानी गर्न वित्तीय पहुँच महत्वपूर्ण रहेको बताइन्। बैंकसँगको सहकार्यले बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई व्यवस्थित वित्तीय विकल्प उपलब्ध हुने उनको भनाइ छ।

मुक्तिनाथ विकास बैंकले उत्पादनशील क्षेत्र, निर्माण तथा पूर्वाधारसँग सम्बन्धित व्यवसायमा वित्तीय पहुँच विस्तार गर्न विभिन्न कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकका अनुसार आवास, अटो, कृषि तथा साना तथा मझौला व्यवसायलगायतका क्षेत्रमा समेत कर्जा सुविधा उपलब्ध छन्।