Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:०९ AM
काठमाडौँ महानगरले पुन: संचालनमा ल्यायो वायोग्याँस प्लान्ट

काठमाडौँ महानगरले पुन: संचालनमा ल्यायो वायोग्याँस प्लान्ट

लगानीबक्स ११ मंसिर २०८३ १:१६ अपराह्न

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले टेकु ट्रान्सफर स्टेशन परिसरमा भएको वायोग्याँस प्लान्ट संचालनमा ल्याएको छ।

महानगरपालिकाले बिहीवारदेखि परीक्षणका लागि उक्त प्लान्ट सञ्चालनमा ल्याएको हो। प्राविधिक कारणले लामो समयदेखि बन्द रहेको प्लान्ट पुनः सञ्चालनमा ल्याउन महानगरपालिकाले गएको साउन १८ गते वैकल्पिक उर्जा प्रवर्धन केन्द्रसँग सम्झौता गरेको थियो।केन्द्रले विश्व बैङ्कसँग सहयोगमा करिब १ करोड ८० लाख रुपियाँ लागतमा प्रणालीलाई थप परिष्कार गरेको हो।

प्रणालीलाई उर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रुपमा शुभारम्भ गरेका हुन्।

त्यस अवसरमा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोलको रोहवरमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई प्रणाली हस्तान्तरण गरेका थिए।

त्यस अवसरमा बोल्दै मन्त्री श्रेष्ठले, भावी पुस्तालाई वातावरणीय असरबाट बचाएर न्याय दिनका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्वको प्रशंशा गरे।

‘यो साझा मुद्दा हो। राजनीतिभन्दा माथिको मुद्दा हो।’ उनले महानगरपालिकासँग आफ्नो अपेक्षा सुनाउँदै भने, ‘यस प्रणालीबाट उत्पादन भएको ग्याँसबाट बिजुली उत्पादन गरौँ। दिउँसो कार्यालय प्रयोजनमा खर्च गरौँ  रातको समयमा सडक बत्ती बालौँ  यसका लागि पीपीए गर्न हामी सहयोग गर्छौँ।’

त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले यो प्लान्ट सञ्चालन वहुआयामिक सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै, ‘यसलाई व्यावसायिक मोडेलमा पनि सञ्चालन गर्न सकिन्छ। तर, हामी यसलाई सिकाइ केन्द्रका रुपमा सञ्चालन गर्न चाहन्छौँ। यहाँको सिकाइले देशैभरि ‘शून्य फोहर’ र ‘वेस्ट टु इनर्जी’को अवधारणा कार्यान्वयनमा बाटो बनोस्।’

सरकारले पाइप लाइनबाट ग्याँस वितरण गर्ने नीति ल्याए महानगरपालिकाले नीति कार्यान्वयनमा लैजाने बताउँदै डंगोलले, ल्याण्डफिल साइटबाट उत्पादन हुने मिथेन ग्याँसको मात्रा घटाउँदै जलवायु परिवर्तनमा असर कम गर्ने कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिएको बताए

एकीकृत फोहरमैला व्यवस्थापन परियोजना अन्तर्गत महानगरपालिकाले युरोपियन युनियनसँगको सहकार्यमा वि. सं. २०७० सालदेखि परीक्षण गरेर २०७४ सालदेखि यो प्लान्ट सञ्चालनमा ल्याएको थियो। यसको दैनिक ३ हजार किलोग्राम जैविक फोहरबाट उत्पादन  बिजुलीबाट १४ किलोवाटसम्म विजुली उत्पादन गर्ने प्लान्टको क्षमता छ। प्राविधिक कारणले सञ्चालन हुन नसकेको प्रणालीलाई साझेदार कार्यालय र विकास साझेदारसँगको सहकार्यमा पुनःसञ्चालनमा ल्याइएको हो।

‘यो प्रणालीलाई दिगो सञ्चालन गर्ने दिशामा हामीले योजना अघि सारेका छौँ।’ प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले भने, ‘परीक्षण कालको प्राविधिक तथा व्यवस्थापकीय पक्षले देखाएको बाटो पछ्याउँदै दिगो संयन्त्रबाट सञ्चालन व्यवस्थापन गर्नेछौँ।’

कार्यक्रममा बोल्दै वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले भने, ‘महानगरपालिका क्षेत्रबाट उत्पादन भएको फोहरलाई उर्जामा रुपान्तरण गर्ने दिशामा सहयोग गर्न हामी तयार छौँ।’

‘जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी मात्र होइन। यो स्थानीय परिवेशको समस्या हो। स्थानीय समस्यालाई स्थानीय स्तरमै समाधानका उपाय खोज्ने काठमाडौँ महानगरपालिकाको प्रयास सराहनीय छ।’ कार्यक्रममा विश्व वैङ्कका सिनियर अपरेसन म्यानेजर रीता ढकालले धारणा राख्दै भनिन्।

प्लान्ट निर्माण गर्दा युरोपियन युनियनबाट ४ करोड ६० लाख रुपियाँ र काठमाडौँ महानगरपालिकाबाट १ करोड ८२ लाख रुपियाँ लगानी भएको थियो।

वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका उर्जाविज्ञ सुशिम मान अमात्यका अनुसार यो कन्टिन्युअस्ली स्टिर्ड ट्याङ्क रियाक्टर (सीएसटीआर) मोडुलर मोडलको बायोग्याँस प्लान्ट हो।

प्लान्ट सञ्चालन गर्दा जैविक फोहरलाई टुक्रा बनाएपछि प्राइमरी डाइजेस्टरमा पठाइन्छ। यसबाट सेकेण्डरी डाइजेस्टरको च्याम्बरमा लगिन्छ। यहाँबाट ग्याँस उत्पादन हुन्छ। यो ग्याँस बेलुनमा लगेर भरिन्छ। बाँकी भएको ठोस बस्तु आउटलेट त्याङकमा पुग्छ। यो ट्याङ्कमा जम्मा भएको बस्तु गन्धरहित जैविक मल हो।

पहिलो डाइजेस्टरमा हालिएको जैविक फोहरलाई ग्याँस बन्न ४० दिन लाग्छ। दैनिक ३ मेट्रिक टन जैविक फोहर राख्दा दैनिक ३ सय घनमिटर ग्याँस उत्पादन हुन्छ। उर्जाविद अमात्य भन्नुहुन्छ, ‘यो भनेको १० सिलिण्डर एलपीजी ग्याँस बराबर हो।’

ग्याँस उत्पादनको प्रक्रियाका बारेमा जानकारी दिँदै उनी भन्छन्, ‘उत्पादित  ग्याँसमा मिथेन, कार्बनडाइअक्साइड र हाइट्रोजन सल्फाइड ग्याँस मिसिएको हुन्छ। यसमध्ये फिल्टर सिस्टमबाट हाइट्रोजन सल्फाइड ग्याँस छुट्याइन्छ। कच्चा यसपछिको बायोग्याँस बेलुनमा जम्मा हुन्छ। बेलुनबाट चिलर युनिटमा लगेर ग्याँसमा भएको मोस्चर (पानी) निकालिन्छ। यो शुद्धिकरणको अर्को विधि हो।’
शुद्धिकरणपछि मिथेन र कार्बनडाइअक्साइड मात्र भएको ग्याँस उत्पादन हुन्छ। यो ग्याँसलाई प्रेसर दिएर टयाङ्कमा भण्डारण गरिन्छ  यसमा भएको चापले वितरण पठाउन सजिलो हुन्छ। अहिलेको प्रणालीबाट १५ सय मिटरसम्म वितरण गर्न सकिने अमात्यको भनाइ छ।

यो ग्याँसबाट बिजुली उत्पादन, ग्याँस टेम्पो सञ्चालन वा घरघरमा पाइपबाट लगेर खाना पकाउने जस्ता उपयोगमा ल्याउन सकिन्छ। यो प्रणालीबाट उत्पादन हुने प्रशोधित पानीलाई प्राङ्गारिक झोल मलको रुपमा बगैँचाहरुमा प्रयोग गरेर व्यवस्थापन गर्न सकिने अमात्यको भनाइ छ।

यसरी उत्पादन भएको ग्याँसबाट टेम्पो चलाउने अभ्यास नेपाल सुरु भइसकेको छ।