सोमबार, २६ असोज २०८३ | ४:०४ PM
नौ ईआरपी कम्पनीसँग एपीआई बैंकिङ प्लेटफर्म र्यापिडको साझेदारी

नौ ईआरपी कम्पनीसँग एपीआई बैंकिङ प्लेटफर्म र्यापिडको साझेदारी

लगानीबक्स सम्वाददाता २६ असोज २०८३ २:४२ अपराह्न

काठमाडौं । र्‍यापिड टेकले आफ्नो एपीआई बैंकिङ प्लेटफर्मलाई व्यावसायिक सफ्टवेयर प्रणालीमा एकीकृत गर्ने उद्देश्यले नौवटा ईआरपी तथा बिजनेस सफ्टवेयर कम्पनीसँग साझेदारी गरेको छ।

र्‍यापिड टेकले आईएमएस (IMS), स्वस्तिक (Swastik), सीएमटी बोस (CMT Boss), रेस्ट्रोएक्स (RestroX), सिनर्जी टेक (Synergy Tech), इन्फिकेयर (Inficare), सोर्स कोड (Source Code), क्रसओभर (Crossover) र डल्फिन (Dolphin) सँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

यस साझेदारीमार्फत व्यवसायले आफूले प्रयोग गर्दै आएका ईआरपी तथा बिजनेस सफ्टवेयर प्रणालीबाटै बैंकिङ विवरण प्राप्त गर्न र वित्तीय कारोबार व्यवस्थापन गर्न सक्नेछन्। र्‍यापिडको एपीआईमार्फत बैंक खाताको मौज्दात हेर्न, स्टेटमेन्ट प्राप्त गर्न र बैंक कारोबारलाई लेखा अभिलेखसँग स्वतः मिलान गर्न सकिनेछ।

र्‍यापिड टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशितोष साहका अनुसार व्यवसायको वित्तीय व्यवस्थापनलाई सहज बनाउनु यस प्लेटफर्मको मुख्य उद्देश्य हो।

बैंक स्टेटमेन्ट र ईआरपीमा रहेका लेखा अभिलेखबीच स्वतः मिलान हुने व्यवस्था हुँदा कारोबार जाँच्न लाग्ने समय घट्ने र वित्तीय टोलीले अन्य काममा ध्यान दिन सक्ने उनले बताए।

त्यस्तै, विभिन्न बैंकमा खाता भएका व्यवसायले प्रत्येक बैंकको पोर्टलमा छुट्टाछुट्टै लगइन नगरी एउटै ईआरपी प्रणालीबाट आफ्नो समग्र नगद अवस्था हेर्न सक्नेछन्। र्‍यापिडले बैंक खाताको वास्तविक मौज्दात र तत्काल प्रयोग गर्न उपलब्ध रकमको विवरण ईआरपीमा उपलब्ध गराउने भएकाले व्यवसायलाई नगद प्रवाह र ट्रेजरी व्यवस्थापनमा सहज हुने कम्पनीको विश्वास छ ।