Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:३७ AM
प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार, नयाँ आईजीपीमा…

प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार, नयाँ आईजीपीमा डा. मनोज केसी

लगानीबक्स सम्वाददाता १८ कार्तिक २०८३ २:५९ अपराह्न

काठमाडौं । सरकारले नेपाल प्रहरीको संगठनात्मक नेतृत्वमा हेरफेर गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

२०८३ कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गर्ने निर्णय गरेको हो ।

मुलुकको शान्ति सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श प्रदान गर्ने उद्देश्यले उक्त पद सिर्जना गरिएको सरकारले जनाएको छ ।

नयाँ सिर्जना गरिएको पदमा बहालवाला प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

कार्की विशेष सुरक्षा सल्लाहकारमा खटिएपछि रिक्त भएको नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई बढुवा गरिएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम डा. केसीलाई कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ भने प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा परामर्श दिन छुट्टै विशेष सल्लाहकारको व्यवस्था गरिएको छ ।