काठमाडौं । नेपाल राष्ट्र बैंकले साइबर स्क्याम तथा वित्तीय ठगीका घटनामा तत्काल समन्वय र सूचना आदानप्रदान गर्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई २४ सै घण्टा उपलब्ध रहने सम्पर्क अधिकृत तोक्न निर्देशन दिएको छ। राष्ट्र बैंकले विकास बैंक, वित्त कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा ई–सेवा र आईएमई खल्तीबाहेकका भुक्तानी सेवा प्रदायकलाई पत्राचार गर्दै सम्पर्क अधिकृतको विवरण उपलब्ध गराउन भनेको हो।
नेपाल सरकार, गृह मन्त्रालयको २०८३ असोज २३ गतेको निर्णयअनुसार स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको स्थापना र सञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ कार्यान्वयनका लागि यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले केन्द्रको प्रभावकारी सञ्चालन तथा सम्बन्धित संस्थासँग समन्वय, सहकार्य र सहजीकरणका लागि सम्पर्क अधिकृतको व्यवस्था गर्न आग्रह गरेपछि राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो।
निर्देशनअनुसार सम्बन्धित संस्थाले २४ घण्टा सम्पर्कमा रहन सक्ने एक जना जिम्मेवार अधिकारी तोक्नुपर्नेछ। साथै, नियुक्त अधिकारीको नामथर, सम्पर्क नम्बर र कार्यालयको इमेल ठेगानासहितको विवरण राष्ट्र बैंकमा पठाउनुपर्नेछ।
राष्ट्र बैंकले उक्त विवरण २०८३ कात्तिक १९ गते दिउँसो ३ बजेसम्म सम्बन्धित विभागको इमेल ठेगानामा उपलब्ध गराउन समयसीमा तोकेको छ।
यस व्यवस्थाले साइबर स्क्याम, अनलाइन ठगी तथा वित्तीय अपराधका घटनामा सम्बन्धित वित्तीय संस्था र प्रतिकार्य केन्द्रबीच छिटो समन्वय गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी ठगीसम्बन्धी सूचना तत्काल आदानप्रदान गर्न तथा आवश्यक प्रतिकार्य अघि बढाउन यसले सहजता ल्याउने विश्वास गरिएको छ।

