काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता, तयारी र राष्ट्रिय प्राथमिकताबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जानकारी गराइएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसहित प्रतिनिधिसभा सदस्य तथा जलवायु विज्ञ सम्मिलित टोलीले शनिबार सभापति लामिछानेलाई भेट गरी सम्मेलनको तयारी र नेपालको प्रमुख एजेन्डाबारे जानकारी गराएको हो ।
यही नोभेम्बर ९ देखि २० सम्म टर्कीको आन्ताल्यामा आयोजना हुने सम्मेलनमा नेपालको सशक्त उपस्थिति सुनिश्चित गर्ने विषयमा भेटका क्रममा छलफल भएको थियो । सो अवसरमा सभापति लामिछानेले सम्मेलनमा सबैले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न र नेपालले भोगिरहेका जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
भेटमा मन्त्री चौधरीले सम्मेलनमा नेपालको सहभागिता, राष्ट्रिय तयारी, प्रतिनिधिमण्डलको संरचना तथा जलवायु कूटनीतिमा नेपालले अघि बढाउने एजेन्डाबारे जानकारी गराउनुभएको थियो ।
छलफलका क्रममा हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम, जलवायु न्याय, जलवायु वित्त तथा अनुकूलनका विषयलाई नेपालको प्राथमिकताका रूपमा प्रस्तुत गरिएको थियो ।
नेपालले कोप–३१ मा विकसित राष्ट्रहरूबाट उत्सर्जन कटौतीमा थप प्रतिबद्धता, अल्पविकसित तथा हिमाली मुलुकका लागि सहज र पूर्वानुमानयोग्य जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा हिमाललाई सम्मेलनको औपचारिक कार्यसूचीमा समावेश गराउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको मन्त्री चौधरीले जानकारी गराउनुभयो ।
त्यसैगरी, नेपाल र भुटानको संयुक्त पहलमा हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्ने, हिमनदी पग्लने र समुद्री सतह बढ्ने विषयबीचको सम्बन्धलाई क्षेत्रीय सहकार्य तथा पूर्वसूचना प्रणालीमार्फत सम्बोधन गर्ने नेपालको तयारी छ । साथै, हानि–नोक्सानी तथा अनुकूलनसम्बन्धी जलवायु वित्तको प्रभावकारी कार्यान्वयनमा समेत नेपालले जोड दिनेछ ।
सम्मेलनको तयारीस्वरूप सरकारले राष्ट्रिय जलवायु शिखर सम्मेलन आयोजना गर्नुका साथै कोप–३१ का लागि नेपालको अवधारणापत्रसमेत तयार गरिसकेको छ । अवधारणापत्रमा सरकारका विभिन्न निकाय, प्रदेश तथा स्थानीय तह, विकास साझेदार, नागरिक समाज, प्राज्ञिक क्षेत्र र निजी क्षेत्रबाट प्राप्त सुझाव समेटिएका छन् ।
कोप–३१ मा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्नुहुनेछ । सम्मेलनमार्फत नेपालले हिमालयको संरक्षण, जलवायु अनुकूलन, जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउने लक्ष्य राखेको छ ।

