Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:०९ AM
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

लगानीबक्स सम्वाददाता २७ कार्तिक २०८३ १:२८ अपराह्न

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले शुक्रबार २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले २० दिनका लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार बुधबार मध्याह्न २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल हुनेछ ।

निक्षेप संकलनका लागि न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोल रकम प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ ।

उक्त बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि प्राप्त बोलमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ । आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

समान ब्याजदरमा प्राप्त बोल रकमले कुल निष्काशित रकमभन्दा बढी भएमा समानुपातिक (प्रो रेटा) आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी मंसिर १२ गते गरिनेछ । भुक्तानी मितिमा निर्धारित ब्याजसहितको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरिनेछ ।