काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको नबिल ग्रोथ फण्डको इकाई मङ्सिर ९ गतेदेखि निष्कासनमा आउने भएको छ । प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई योजना व्यवस्थापकले निष्कासन गर्न लागेको हो । कुल इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रबर्दक नबिल बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याईएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन हुनेछ ।
यी इकाई निष्कासन अवधि छिटोमा मङ्सिर १४ गतेसम्मका लागि तय गरिएको छ । यो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा मङ्सिर २३ गतेसम्म निष्कासन लम्बिने जानकारी योजना व्यवस्थापकले दिएको छ । लगानीकर्ताले यी इकाई खरीदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सक्नेछन् ।
योजना व्यवस्थापकसँगै इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारीमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयमार्फत आवेदन पेश गर्न सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिनेछन ।
बन्दमुखी प्रकृतिको यस योजनाको अवधि १० वर्षको रहेको छ । यो फण्ड सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले कार्तिक ११ गते अनुमति दिएको हो । बन्दमुखी प्रकृतिको योनजा भएकाले यस योजनाको इकाईहरु दोस्रो बजारमा सूचीकृत भई कारोबारमा समेत आउनेछन् ।

