काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा प्रतिशेयर १ हजार ५४० रुपैयाँ कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत वर्ष प्रतिशेयर १ हजार ८४२ रुपैयाँ कर समेत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने कम लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण हुनेछ । लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि भने कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

