काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका एजेन्डा तय भएका छन्। भ्रमणलाई उपलब्धिमूलक बनाउन नेपाल र भारतका सम्बन्धित निकायले गृहकार्य तीव्र बनाएका छन्।
नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले मंगलबार प्रधानमन्त्री शाहसँगको भेटमा भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिएका हुन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने पनि बताए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए। सो अवसरमा प्रधानमन्त्रीले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे पनि जानकारी लिएका थिए।
भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। साथै, दुवै पक्षबीच नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय सहकार्य र साझा हितका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यद्यपि, भ्रमणका क्रममा कुन-कुन विषयमा सहमति हुने वा महत्त्वपूर्ण निर्णय लिइने भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

