टर्की । जलवायु परिवर्तनको असर भोगिरहेको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट सहानुभूति होइन, न्याय पाउनुपर्ने माग गर्दै नेपालीहरूले टर्कीको आन्ताल्यामा प्रदर्शन गरेका छन् । रसुवा भोटेकोशी बाढीका पीडित सम्झँदै नेपाली सहभागीहरुले जलवायु न्यायको माग गरेका हुन ।
प्रदर्शनस्थलमा चारवटा शवका नमुना राखिएको थियो । नमुना शवले सहभागीहरूको ध्यान खिचेको थियो । आफन्त बाढीमा बेपत्ता भएपछि शवसमेत फेला नपरेको पीडालाई ती नमुनामार्फत प्रस्तुत गरिएको थियो । शवको नमुनामार्फत बाढी र जलवायुजन्य विपद्ले निम्त्याउने मानवीय क्षति, परिवारले भोग्नुपर्ने पीडा र बेपत्ता आफन्तको अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्थालाई प्रदर्शन गरिएको थियो।
जलवायु संकटका लागि जिम्मेवार प्रदूषणकारी राष्ट्र तथा पक्षहरूले क्षतिपूर्ति दिनुपर्ने मागसहित आयोजित प्रदर्शनमा एक दर्जनभन्दा बढी देशका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाए थिए । प्रदर्शनमा सहभागी नेपाली युवाहरूले ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’, ‘ऋण होइन, क्षतिपूर्ति चाहिन्छ’ लगायतका नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर नेपालले भोगिरहेको भन्दै उनीहरूले जलवायु संकटका लागि बढी जिम्मेवार पक्षले यसको आर्थिक दायित्व वहन गर्नुपर्ने बताए ।
प्रदर्शनमा बोल्ने विभिन्न देशका वक्ताहरूले पनि नेपालको जलवायु न्यायसम्बन्धी मागप्रति ऐक्यबद्धता जनाएका थिए । उनीहरूले जलवायु परिवर्तनबाट जोखिममा रहेका समुदाय र देशका आवाजलाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
नेपाली वक्ताहरूले जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई ऋण दिएर थप आर्थिक भार बोकाउनुको सट्टा प्रदूषणका लागि जिम्मेवार पक्षले क्षतिपूर्ति दिनुपर्ने बताए । कार्यक्रममा वक्ता रहेकी पेमा वाङ्मो तामाङले हामीलाई सहानुभूति होइन, न्याय चाहिएको छ भन्दै विश्वसमुदायको ध्यानाकर्षण गराएकी थिइन । उनले थपिन ‘जलवायु संकट सिर्जना गर्नेहरूले यसको मूल्य चुकाउनुपर्छ ।’
प्रदर्शनमा सहभागि नेपालीहरुले जलवायु संकटलाई केवल वातावरणीय समस्याका रूपमा नभई न्याय, मानवअधिकार र मानवीय अस्तित्वसँग जोडिएको विषयका रूपमा उठाएका थिए । अन्तर्राष्ट्रिय समुदायले जलवायु प्रभावित देशका नागरिकको पीडा र क्षतिलाई सम्बोधन गर्नुपर्ने उनीहरूको माग थियो ।
आन्ताल्यामा भएको यो प्रदर्शनले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि यसको असमान र गम्भीर असर भोगिरहेका नेपालजस्ता देशको क्षतिपूर्ति र जलवायु न्यायसम्बन्धी आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ । प्रदर्शनमा रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम समेत गरिएको थियो ।

