काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमा दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो। सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
यता, चितवन राइनोजले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। बुधबार सम्पन्न खेलमा पराजित भएसँगै काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिएको थियो। अब दोस्रो क्वालिफायरमा जित निकाल्ने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल प्रवेशका लागि दुवै टोलीलाई यो खेल जित्नैपर्ने भएकाले प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

