Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:२१ AM
प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर ६ र ७ गते, ३४…

प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर ६ र ७ गते, ३४ सदस्यीय सरकारी टोली जाने

लगानीबक्स सम्वाददाता ४ मंसिर २०८३ २:०२ अपराह्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणबारे परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी दिएको हो।

मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्नेछन्। प्रधानमन्त्रीको नेतृत्वमा ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत जानेछ। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन्।

यसैगरी, भ्रमणका क्रममा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यावसायिक टोली पनि आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यस्तै, मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। सो अवसरमा मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। भारतका विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहकार्य तथा साझेदारीका क्षेत्रबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेषगरी जनकपुर–अयोध्या रेल सेवा उद्घाटन, अतिरिक्त हवाई मार्ग, ऊर्जा, व्यापार, पूर्वाधार विकास तथा भारतीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिका विषयमा महत्त्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सहयोग र साझेदारी विस्तार गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

निर्धारित भेटघाट तथा औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।