काठमाडौँ। काठमाडौँ महानगरपालिकाले जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माणस्थलको ब्रम्हस्थानमा जगपूजा र शिलान्यास गरेकी हुन्। उनीसँगै निर्माणस्थलको इशान (उत्तर-पूर्व) कोणमा वडा नं. २४ का अध्यक्ष एवम् हनुमाढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम उपसमितिका संयोजक बिनोद कुमार राजभण्डारीले, आग्नेय (दक्षिण-पूर्व) कोणमा वडा नं. २३ का अध्यक्ष एवम् विधायन समितिका संयोजक मचाराजा महर्जनले, वायव्य (उत्तर-पश्चिम) कोणमा वडा नं. १९ का अध्यक्ष एवम् पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ र नैॠत्य (दक्षिण-पश्चिम) कोणमा वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जगपूजा र शिलान्यास गरेका हुन्।
भवन निर्माणका लागि ६ करोड ७ लाख ९५ हजार ५७ रुपियाँ लागत अनुमान गरिएको छ। शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले लामो प्रयास र मिहनेतपछि ऎतिहासिक कामको प्रारम्भ भएको बताइन्।
बहुपक्षीय सहभागिताबाट यसको निर्माण सम्पन्न हुने बताउँदै उनले भवन निर्माणलाई अपनत्व लिएर आफ्नै घर बनाए जसरी स्थानीयबाट निगरानी हुने अपेक्षा पनि गरिन।
त्यस क्रममा वडा नं. २३ का अध्यक्ष महर्जनले आफ्नो ९ वर्षे कार्यकालमा भएका महत्वपूर्णमध्ये श्रीगणेश र श्रीभैरवको भवन निर्माणको थालनी प्रमुख एउटा भएको बताए।
त्यस क्रममा पूर्व वडाध्यक्ष पवित्र बज्राचार्य, पूर्व गणेश, गणेश शाक्य, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले सम्पदाको संरक्षण र जीवन्तताका लागि महानगरपालिकाले थालेका कामको प्रसंसा गरे।
श्रीगणेश र श्रीभैरवको निवासस्थानका लागि साढे ३ तलाको वास्तुकलात्मक भवन निर्माण हुनेछ। आर्किटेक्ट अमित बज्राचार्यका अनुसार भवनका हरेक तला १३३८.७५ वर्गफिटका हुनेछन्। भवन जम्मा ४ हजार १६ दशमलव २५ वर्गफिट क्षेत्रफलको हुनेछ।
पराम्परागत नेवारी वास्तुकलामा आधारित भवन इटा, काठ, चुना, सुर्की जस्ता निर्माण सामग्रीको प्रयोगबाट बन्नेछ। भवनमा कलात्मक झिँगटीको छानो हुनेछ।
भवनको भुइँतलामा सत्तल र भण्डार कक्ष हुनेछ। आर्किटेक्ट अमित बज्राचार्यका अनुसार पहिलो तलामा जीवित देवताहरुको दर्शन कक्ष र निवास कक्ष हुनेछ। दोस्रो तलामा भान्छा, शयन कक्ष लगायत स्थान हुनेछ।

