Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:२५ AM
सुदूरपश्चिम रोयल्स पहिलोपटक एनपीएल च्याम्पियन, लुम्बिनी १० विकेटले पराजित

सुदूरपश्चिम रोयल्स पहिलोपटक एनपीएल च्याम्पियन, लुम्बिनी १० विकेटले पराजित

लगानीबक्स सम्वाददाता ६ मंसिर २०८३ ९:५३ पूर्वाह्न

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। लगातार दुई संस्करणमा उपविजेतामा सीमित बनेको सुदूरपश्चिमले तेस्रो प्रयासमा साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सी नायक बने। उनले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १२५ रन बनाए। अर्का ओपनर विनोद भण्डारीले अविजित ३० रनको योगदान दिए।

यसअघि टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनमा रोकेको थियो। लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेल र दिलिप नाथले समान ३० रन बनाए। त्यस्तै निरोशन डिक्वेल्लाले २८ तथा डी आर्की शर्टले २१ रन जोडे।

सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले दुई विकेट लिए भने थरिन्दु रथ्नायके, हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे। यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित हुँदै उपाधिबाट वञ्चित भएको सुदूरपश्चिमले यसपटक लुम्बिनीलाई हराउँदै अघिल्लो संस्करणको हारको बदला समेत लिएको छ।

उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको लुम्बिनी लायन्सले ८० लाख रुपैयाँमा चित्त बुझाएको छ।