काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासनको तयारी अघि बढाएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले चैत १७ गते विक्री हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस कम्पनीले फागुन १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५३ करोड ५० लाख रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले २० प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीका आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
२० प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी ६४ करोड २० लाख रुपैयाँ कायम भएको छ । सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो । विक्री प्रबन्धक नियुक्तीसँगै अब नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गर्ने प्रक्रिया अघि बढ्नेछ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ८९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९९ पैसा छ ।

