काठमाडौं । आयोजना प्रभावित स्थानीयमा सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ खरीद गर्ने अवधि थपिएको छ । छिटो अवधि चैत २२ गतेसम्म कम्पनीको आईपीओ खरीदका लागि स्थानीयबाट माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि वैशाख ७ गतेसम्मको निष्कासन मिति तय भएको हो ।
सो अवधिभित्र मागबमोजिम आवेदन प्राप्त भएमा जुन कुनै दिन निष्कासन बन्द गरिने जानकारी कम्पनीले दिएका छ । यस कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओमध्ये पहिलो चरणमा चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने चैत ११ गतेसम्म आईपीओ निष्कासन गरिएको हो । कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । जसमध्ये २८ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरिएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने ५ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गरिसकिएको छ । स्थानीयमा जारी रहेको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
यस कम्पनीले ३८ दशमलव ४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष ०८१/८२ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८० पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ५७ पैसा छ ।

