२०८३ जेठ ११ | १२:२८ PM
३० सेकेन्डभित्र काग बोलाउन सक्ने क्षमताले रमेश लाई विश्व कीर्तिमान

३० सेकेन्डभित्र काग बोलाउन सक्ने क्षमताले रमेश लाई विश्व कीर्तिमान

Laganibox २०८३ वैशाख १४ ९:१४ अपराह्न

काठमान्डौ : कलाकार रमेश बुढाथोकीले आफ्नै अनौठो क्षमतामार्फत अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान बनाएका छन्।

ध्वनि संकेत प्रयोग गरेर टाढा रहेका कागलाई छोटो समयमै आकर्षित गर्न सक्ने उनको कला अहिले विश्वमै चर्चाको विषय बनेको छ। विशेषगरी, ३० सेकेन्डभित्र काग बोलाउन सक्ने क्षमताले उनलाई विश्व कीर्तिमानसम्म पुर्‍याएको हो।

यो उपलब्धिलाई मान्यता दिँदै भारतको गोवामा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा Universal Books of World Records ले उनलाई सम्मानित गर्दै आधिकारिक उपाधि प्रदान गरेको छ। सामान्यतया असम्भवजस्तै मानिने यस्तो क्षमतालाई व्यवहारमै देखाएर उनले आफूलाई अरू कलाकारभन्दा फरक रूपमा स्थापित गरेका छन्।


उनी डिजिटल प्लेटफर्ममा पनि उत्तिकै सक्रिय छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्ना फरक–फरक प्रस्तुति, कला र मनोरञ्जनात्मक सामग्री दर्शकसमक्ष पुर्‍याउँदै आएका छन् ।

उनको व्यक्तित्वको अर्को महत्वपूर्ण पक्ष भनेको सामाजिक उत्तरदायित्व हो। विभिन्न सामाजिक तथा मानवतावादी अभियानहरूमा सहभागी हुँदै उनले समुदायसँग नजिकको सम्बन्ध बनाएका छन्। कला र सेवाको संयोजनले उनको पहिचानलाई अझ मजबुत बनाएको छ।