काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गते आजदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरि दोस्रो चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकोे हो । पहिलो चरणको आईपीओ विक्रीको काम भने कम्पनीले वैशाख ६ गते सम्पन्न गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा चैत ८ गतेदेखि ११ गतेसम्म आईपीओ निष्कासन गरि चैत १८ गते बाँडफाँट गरेको कम्पनीले आयोजना प्रभावित स्थानीयमा भने चैत ८ गतेदेखि चैत २३ गतेसम्म आईपीओ ७ लाख कित्ता आईपीओ निष्कासन गरी वैशाख ६ गते बाँडफाँट गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले २ लाख १० हजार कित्ता आईपीओ २१ हजार जना आवेदकहरुमा १० कित्ताका दरले बाँडफाँट गरेको थियो । यी वाहेक पनि कम्पनीले १ लाख ५ हजार कित्ता सामूहिक लगानीकोष र ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुमा बाँडफाँट गरी बाँकी रहेको १७ लाख ४३ हजार कित्ता आईपीओ भने थप सर्वसाधारणमा निष्कासनमा ल्याइएको हो ।
थप सर्वसाधारण लगानीकर्ताहरुले यो आईपीओ खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म माग गर्न सक्नेछन् । निष्कासन मिति छिटोमा वैशाख २२ गतेसम्म र सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा वैशाख ३० गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आईपीओ खरीदका लागि आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाईन पनि आवेदनका लागि प्रयोग गर्न सकिनेछ । कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
२०७८ साल भदौ २३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भएको यो कम्पनी २०६४ साल मंसिर ५ गतेका दिन प्राइमेट कम्पनीको रुपमा दर्ता भएको थियो । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा याम्बालिङ्ग खोलाको पानी उपयोग गरि ७ दशमलव २७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाबाट २०८० फागुन ८ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिएको हो ।यो आयोजना निर्माणको कुल लागत भने १ अर्ब ८७ करोड ११ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस आयोजनाबाट विद्युत उत्पादन गर्न कम्पनीले २०७३ साल असोज ९ गते नेपाल सरकारको अनुमति पाएको थियो । उक्त अनुमति पत्र २१०८ साल असोज ८ गतेसम्म बहाल रहनेछ भने सो अवधिपश्चत् नेपाल सरकारलाई निशुल्क आयोजना हस्तान्तरण हुने जानकारी कम्पनीले दिएको छ । कम्पनीको रजिष्ट्रार कार्यालय ललितपुरको ज्वागलमा रहेको छ भने विद्युत उत्पादन केन्द्र सिन्धुपाल्चोक जिल्लाको जुगलमा छ ।
यस कम्पनीको अधिकृत पूँजी ७० करोड रुपैयाँ छ भने जारी पूँजी पनि ७० करोड रुपैयाँनै छ । हाल कम्पनीको चुक्तापूँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी ७० करोड रुपैयाँ कायम हुनेछ । हाल संस्थापक तर्फ ६० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीको सर्वसाधारणमा ४० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओबाट संकलित रकम कम्पनीले कर्जा भुक्तानीका लागि प्रयोग गर्ने बताएको छ ।
विद्युत उत्पादन गरेको दुई वर्ष पुरा भैसकेको अवस्थामा यस कम्पनी हाल सञ्चालन नाफामै रहेको छ । आर्थिक वर्ष ०८०/८१ सम्म ३ करोड १५ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको कम्पनी गत आर्थिक वर्ष ०८१/८२ सम्म भने ७६ लाख ३४ हजार रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ८२ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १ रुपैयाँ ८२ पैसा छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म भने कम्पनी २ करोड ५५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म भने कम्पनीले ५ लाख ५३ हजार रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीको छ । आर्थिुक वर्ष ०८४/८५ सम्मको प्रक्षेपित योजनामा कम्पनीले २ करोड ९७ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने उल्लेख गरेको छ ।

