काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले बैशाख १७ गतेदेखि निष्कासन गरेको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा छिटो अवधिभित्र विक्री भएको छ । कम्पनीले मागभन्दा बढी आवेदन परिसकेकाले वैशाख २३ गतेसम्म मात्र निष्कासन खुला गर्ने जानकारी दिएको हो ।
यस कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता शेयरमध्ये १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुसँगै कम्पनीले वैशाख १७ गतेदेखिनै आयोजना प्रभावित स्थानीयका लागि समेत आईपीओ निष्कासन गरेको छ । ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओ भने छिटोमा वैशाख ३१ गतेसम्म र सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा जेठ १८ गतेसम्म निष्कासनमा रहनेछ । पहिलो चरणको आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीले सामूहिक लगानीकोष र कर्मचारीहरुलाई समेत आईपीओ बाँडफाँट गरि बाँकी रहेको शेयर थप सर्वसाधारणका लागि दोस्रो चरणमा निष्कासन गर्नेछ ।
यस कम्पनीले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८१ साल साउन १६ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजना निर्माणको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा रहेको छ । कम्पनीले सञ्चालन नाफामै रहेको छ । गत आर्थिक वर्ष ०८१/८२ सम्म ४ करोड १२ लाख रुपैयाँ सञ्चित नाफामा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८४ पैसा र प्रतिशेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । चालू आर्थिक वर्षभित्र कम्पनीले १६ करोड २४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।

