२०८३ जेठ ११ | १:१४ PM
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ थप सर्वसाधारणका लागि निष्कासनमा 

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ थप सर्वसाधारणका लागि निष्कासनमा 

१ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषहरूका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ । 

लगानीबक्स २०८३ वैशाख २३ १२:११ अपराह्न

काठमाडौं । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँट गरिसकेको टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका आईपीओ निष्कासन गरेको छ।

सर्वसाधारणका लागि कम्पनीले वैशाख २३ गतेदेखि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्कासन गरेको हो।कम्पनीले सर्वसाधारण लगानीकर्तामा आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५ दशमलव २६ प्रतिशतले हुन आउने ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । यसअघि कम्पनीले १२ लाख कित्ता भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूका लागि, ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषहरूका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणमा निष्कासनमा आएको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ । निष्कासन मिति छिटोमा वैशाख २८ गतेसम्म र ढिलो मिति जेठ ६ गतेसम्म तोकिएको छ । सर्वसाधारणमा आईपीओप्रति बढ्दै गएको आकर्षणलाई हेर्दा छिटो अवधिभित्र मात्र कम्पनीको आईपीओ निष्कासन हुने निश्चित छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।