२०८३ जेठ ११ | १२:२८ PM
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ थप सर्वसाधारणमा बाँडफाँट

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ थप सर्वसाधारणमा बाँडफाँट

लगानीबक्स २०८३ वैशाख ३० १२:१९ अपराह्न

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले दोस्रो चरणमा थप सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ वैशाख १६ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको थियो ।

सो अवधिमा रितपूर्वक आवेदन दिएका १ लाख ७४ हजार ३१० जना आवेदकहरुमा १० कित्ताका दरले वैशाख ३० गते आईपीओ बाँडफाँट गरेको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले २९ लाख ८२ हजार ४९८ जनाको आवेदन प्राप्त भएकोमा २९ लाख ३८ हजार ८२ जनाको आवेदन मात्र योग्य भएको जानकारी दिएको छ ।

कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरि दोस्रो चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकोे हो । पहिलो चरणको आईपीओ विक्रीको काम भने कम्पनीले वैशाख ६ गते सम्पन्न गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा चैत ८ गतेदेखि ११ गतेसम्म आईपीओ निष्कासन गरि चैत १८ गते बाँडफाँट गरेको कम्पनीले आयोजना प्रभावित स्थानीयमा भने चैत ८ गतेदेखि चैत २३ गतेसम्म आईपीओ ७ लाख कित्ता आईपीओ निष्कासन गरी वैशाख ६ गते बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले २ लाख १० हजार कित्ता आईपीओ २१ हजार जना आवेदकहरुमा १० कित्ताका दरले बाँडफाँट गरेको थियो । यी वाहेक पनि कम्पनीले १ लाख ५ हजार कित्ता सामूहिक लगानीकोष र ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुमा बाँडफाँट गरिसकेको छ ।

यस कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा याम्बालिङ्ग खोलाको पानी उपयोग गरि ७ दशमलव २७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाबाट २०८० फागुन ८ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिएको हो ।यो आयोजना निर्माणको कुल लागत भने १ अर्ब ८७ करोड ११ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस आयोजनाबाट विद्युत उत्पादन गर्न कम्पनीले २०७३ साल असोज ९ गते नेपाल सरकारको अनुमति पाएको थियो । उक्त अनुमति पत्र २१०८ साल असोज ८ गतेसम्म बहाल रहनेछ भने सो अवधिपश्चत् नेपाल सरकारलाई निशुल्क आयोजना हस्तान्तरण हुने जानकारी कम्पनीले दिएको छ ।