२०८३ असार २८ | ९:३६ AM
सिटिजन्स बैंकले पनि अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने,असार ३…

सिटिजन्स बैंकले पनि अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने,असार ३ गते बोलायो विशेष साधारण सभा 

लगानीबक्स २०८३ जेठ १३ १:३८ अपराह्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पनि अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । यस कम्पनीले७ दशमलव ५ प्रतिशत निश्चित लाभांश दर रहने गरी प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको यस्तो शेयर जारी गर्न लागेको हो । संस्थागत लगानीकर्ताहरुमा परिपत्र विधिमार्फत विक्री हुने यी शेयर कम्पनीले सञ्चित नाफा गरेको वर्ष मात्र वितरण गर्दछ । अन्य शेयरधनीहरुभन्दा अगाडीनै अग्राधिकार शेयरधनीहरुलाई तोकिएको लाभांश वितरण गर्नुपर्ने हुन्छ ।

अबिमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ३ गत विशेष साधारण सभा बोलाएको छ । जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै त्यसका लागि सम्पूर्ण जिम्मेवारी सभाले सञ्चालक समितिलाई प्रदान गर्नेछ । अग्राधिकार शेयर जारीपछि कम्पनीको पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै संस्थापकतर्फबाट एक जना र सर्वसाधारणतर्फबाट तीन जना सञ्चालकको निर्वाचन प्रक्रिया कार्यान्वयन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । कमपनीले १९औं वार्षिक साधारण सभामा राखिएको सञ्चालक निर्वाचन प्रस्ताव सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएकोमा गत चैत १५ गते सर्वोच्चको अन्तिम आदेश फैसला भई रिट खारेज भएकाले सञ्चालक निर्वाचन प्रक्रिया कार्यान्वयन गर्न लागिएको जानकारी कम्पनीले दिएको छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ २५ गतेसमम कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।