काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले अन्तिम चरणमा थप सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको सहयोगमा कम्पनीले असार १ गते आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि जेठ १८ गतेदेखि २१ गतेसम्म ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । तोकिएको अवधिभित्र २७ लाख ५९ हजार ४९० जनाको आवेदन परेकोमा २७ लाख २७ हजार ५१५ जनाको आवेदन मात्र रितपूर्वक भएको जानकारी विक्री प्रबन्धकले दिएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गर्दा ४ लाख ६७ हजार ४ सय जना भाग्यमानी आवेदकहरुले १० कित्ताको दरले आईपीओ पाएका छन् ।
थप सर्वसाधारणमा आईपीओ बाँडफाँट भएसँगै कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रक्रिया सम्पन्न गरेको छ ।
यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीयमा २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यीबाहेक पनि १ लाख ७१ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा आईपीओ बाँडफाँट भैसकेको हो ।
यस कम्पनीले बझाङ जिल्लामा ३८ दशमलव ४६ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ फागुन ६ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजना निर्माणको कुल लागत ८ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी छ । २०७२ चैत १४ गते आयोजना निर्माण उत्पादन तथा सञ्चालन अनुमति प्राप्त गरेको कम्पनीको अनुमति २१०७ चैत १३ गतेसम्म बहाल रहनेछ ।

