२०८३ असार २८ | १:०६ AM
मन्त्री पोखरेलद्वारा कर्णालीका खेल तथा शैक्षिक पूर्वाधारको अनुगमन

मन्त्री पोखरेलद्वारा कर्णालीका खेल तथा शैक्षिक पूर्वाधारको अनुगमन

लगानीबक्स २०८३ असार २ ५:५२ अपराह्न

सुर्खेत । माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा कर्णाली प्रदेशका महत्वपूर्ण खेल तथा शैक्षिक संस्थाहरूको अनुगमन गरिएको छ। अनुगमनका क्रममा कर्णाली प्रदेश रङ्गशाला, मध्यपश्चिम विश्वविद्यालय तथा शिक्षा क्याम्पस सुर्खेतको स्थलगत निरीक्षण गर्दै त्यहाँको वर्तमान अवस्था, आवश्यक पूर्वाधार विकास तथा सेवा प्रवाहका विषयमा विस्तृत जानकारी लिइएको थियो।

अनुगमनका क्रममा मन्त्री पोखरेलले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी, खेल पूर्वाधारको स्तरोन्नति, खेलाडीमैत्री वातावरण निर्माण तथा खेल क्षेत्रको दीर्घकालीन विकासका लागि आवश्यक योजना र कार्यक्रमबारे सरोकारवाला निकायसँग छलफल गर्नुभयो। उहाँले राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको पहिचान, क्षमता र सम्भावनालाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर भएकाले तयारी कार्यलाई प्रभावकारी र समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो।

कर्णाली प्रदेश रङ्गशालाको निरीक्षणका क्रममा प्रतियोगिताका लागि आवश्यक खेल मैदान, दर्शकदीर्घा, आवासीय व्यवस्था तथा अन्य भौतिक पूर्वाधारको अवस्थाबारे समीक्षा गरिएको थियो। सम्बन्धित निकायका प्रतिनिधिहरूले निर्माण तथा स्तरोन्नतिको प्रगति विवरण प्रस्तुत गर्दै बाँकी कामलाई निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसैगरी मध्यपश्चिम विश्वविद्यालय र शिक्षा क्याम्पस सुर्खेतमा भएको अनुगमनका क्रममा कर्णाली प्रदेशको शिक्षा क्षेत्रलाई गुणस्तरीय, व्यवस्थित र रूपान्तरणकारी बनाउने विषयमा विशेष छलफल भएको थियो। छलफलमा उच्च शिक्षा, शिक्षक शिक्षा, अनुसन्धान, नवप्रवर्तन, प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थीको सीप विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने विषयमा विचार आदानप्रदान गरिएको थियो।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधार बिना समृद्ध समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै कर्णालीका शैक्षिक संस्थाहरूलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले शिक्षामा पहुँच मात्र होइन, गुणस्तर, दक्षता र रोजगारमुखी शिक्षालाई पनि समान महत्व दिनुपर्ने धारणा राख्नुभयो।