२०८३ असार ८ | १०:२४ AM
एभरेष्ट कलरको आईपीओ थप सर्वसाधारणमा बाँडफाँट

एभरेष्ट कलरको आईपीओ थप सर्वसाधारणमा बाँडफाँट

लगानीबक्स २०८३ असार ४ ११:३७ पूर्वाह्न

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले अन्तिम चरणमा थप सर्वसाधारणका लागि जेठ २२ गतेदेखि २७ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक मुुक्तिनाथ क्यापिटल लिमिटेडले असार ४ गते विहान आईपीओ बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीले थप सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता आईपीओ निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट कम्पनीको आईपीओ बाँडफाँट भएको हो । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल २६ लाख ८७ हजार ४२१ जनाको आवेदन परेको थियो । यीमध्ये २६ लाख ४१ हजार ९५९ जनाको आवेदन मात्र रितपूर्वक भएको थियो । रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई बाँडफाँटमा सहभागी गराई भाग्यमानी ६५ हजार ५७० जना आवेदकहरुमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । बाँकी आवेदकहरुको हात भने खाली भएको छ ।

यस कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६ दशमलव ३३ प्रतिशतका दरले हुने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डबाट अनुमति पाएको थियो । थप सर्वसाधारण लगानीकर्ताहरुमा आईपीओ निष्कासन गर्नु अघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्दा १० प्रतिशत शेयर अनिवार्य रुपमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गर्नुपर्ने व्यवस्था बमोजिम पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ७९ हजार कित्ता शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरी वैशाख २९ गते बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै कम्पनीले ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १५ हजार ८०० कित्ता शेयर कर्मचारीहरुका लागि समेत बाँडफाँट गरिसकेको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।

यस कम्पनीले विगत १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनीहरु सरह उच्च गुणस्तरीय पेन्ट उत्पादन तथा विक्री वितरा गर्दै आएको छ । नेपालको पहिलो पेन्ट उद्योगको रुपमा यो कम्पनीले सबै बर्गका उपभोक्ताको आवश्यकता र नेपाली हावापानीलाई ध्यानमा राखी प्रिमियमदेखि इकोनोमी ब्राण्डसम्मका विविध प्रकारका रंगहरु उत्पादन गर्दै आएको छ । कम्पनीले सञ्चालन गरेको उद्योगको कर्पोरेट कार्यालय भक्तपुरको कौशलटारमा रहेको र भने उद्योगको कारखाना चितवन जिल्लाको खैपरहनीमा छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनी ९० लाख ३७ हजार रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९७ पैसा र प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६० पैसा छ ।