काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी तथा विभिन्न अपराधिक गतिविधिमा संलग्न १ हजार ८७१ जनाको विस्तृत प्रोफाइल तयार गरेको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिषरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले काठमाडौंमा हुने विभिन्न प्रकारका अपराध नियन्त्रण तथा अपराधीको पहिचानलाई प्रभावकारी बनाउन उक्त प्रोफाइल तयार गरिएको जानकारी दिनुभयो।
प्रहरीका अनुसार अपराधमा संलग्न व्यक्तिहरूको तीन पुस्तेसम्मको विवरण समेटेर अभिलेख तयार गरिएको छ। यसले अपराध भएपछि संलग्न व्यक्तिको पहिचान, खोजी तथा कानुनी कारबाहीको प्रक्रियालाई सहज बनाउने विश्वास गरिएको छ।
प्रोफाइलमा पटके अभियुक्त तथा अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै वर्गीकरण गरिएको छ। पछिल्लो समय ठगी (फ्रड) र साइबर अपराधका घटना सबैभन्दा बढी देखिएको प्रहरीको भनाइ छ।
प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउन यस्ता अभिलेख व्यवस्थापनलाई निरन्तर गर्दै लैजाने जनाएको छ।
