काठमाडौं, साउन १३ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीप पाठकको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ। उहाँको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्सा पठाइएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहार घटनापछि चिकित्सकहरूले एसपी र प्रमुख जिल्ला अधिकारीको सरुवाको माग गर्दै आन्दोलन गरेका थिए।
चिकित्सकहरूसँगको वार्ताका क्रममा समेत एसपी पाठकको सरुवा प्रमुख मागका रूपमा उठाइएको थियो। यसअघि पाल्पाका प्रहरी प्रमुख रहेका भट्टराई जेनजी आन्दोलनपछि काठमाडौं सरुवा भएका थिए। अपरेसन तथा फिल्ड कमान्डमा अनुभवी मानिने भट्टराईलाई अब पर्साको जिम्मेवारी दिइएको छ।
