काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन वा एकीकरण गर्दा कर्मचारी कटौती गर्न नपाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै शाखा समायोजनका क्रममा कर्मचारीको रोजगारी संरक्षण गर्ने नयाँ व्यवस्था लागू गरेको हो ।
संशोधित निर्देशनअनुसार शाखा समायोजन वा एकीकरण भएको वा हुने क्रममा रहेको कारण देखाएर सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन पाइने छैन । त्यस्ता कर्मचारीलाई नजिकको शाखा वा उनीहरूको प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले शाखा समायोजन गर्नुअघि ग्राहक तथा अन्य सरोकारवालालाई पर्याप्त जानकारी दिनुपर्ने व्यवस्था पनि गरेको छ । यसअनुसार शाखा समायोजन गर्नुभन्दा कम्तीमा ९० दिनअघि राष्ट्रियस्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र शाखाको सूचनापाटीमार्फत सूचना प्रकाशित गर्नुपर्नेछ ।
त्यस्तै, शाखा समायोजनका कारण ग्राहकले आफ्नो कर्जा समयअगावै चुक्ता गर्न वा अन्य बैंकिङ सेवा बन्द गर्न चाहेमा कुनै पनि अतिरिक्त शुल्क नलिई त्यस्तो सुविधा उपलब्ध गराउनुपर्नेछ । शाखा समायोजन गर्दा सम्बन्धित क्षेत्रको वित्तीय पहुँचमा प्रतिकूल असर नपर्ने सुनिश्चित गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
समायोजन सम्पन्न भएको तीन कार्यदिनभित्र त्यससम्बन्धी विवरण राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ । साथै, तोकिएको ढाँचाअनुसार बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा आवश्यक विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकको यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको शाखा समायोजन प्रक्रियालाई व्यवस्थित बनाउनुका साथै कर्मचारीको रोजगारी संरक्षण, ग्राहकको हित र वित्तीय सेवामा सर्वसाधारणको पहुँच कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
