काठमाडौं । थापाथली क्षेत्रका अव्यवस्थित तार एक दिनमै हटेकाे छ । ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाे अग्रसरतामा बुधबार लामो समयदेखि थापाथली क्षेत्रमा सडकका पाेलमा गुजुल्टाे परेर लत्रिएका तथा प्रयाेगविहीन अवस्थामा रहेका विद्युत्, इन्टरनेट, टेलिफाेन र टेलिभिजनका तार व्यवस्थापन गरिएकाे हाे ।
मंगलबार राति तारहरूकाे गुजुल्टाेमा आगलागी भएपछि विहानैदेखि मन्त्री श्रेष्ठ थापाथली पुगेर व्यवस्थापनमा जुट्नु भएको थियो। उहाँले अवरुद्ध सेवा तत्काल सूचारू र तार व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय पनि गरेका थिए ।
फिल्डबाटै मन्त्री श्रेष्ठले सञ्चारमन्त्री विक्रम तिमिल्सिना, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौं महानगरपालिका तथा अन्य सम्बन्धित निकायसँग सम्पर्क गरेर साे क्षेत्रकाे तार हटाएका हुन् ।
मन्त्री श्रेष्ठले सम्बन्धित निकायकाे समन्वयमा सफलरूपमा तार व्यवस्थापन गरिएकाे र अन्य क्षेत्रमा पनि हटाइँदै जाने बताउनु भयो । जोखिमपूर्ण अवस्थामा रहेका तारहरूको तत्काल व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापन गरिने उहांकाे भनाइ छ ।
मन्त्री श्रेष्ठले राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि गुजुल्टिएर रहेका तारलाई व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने समेत स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठले सञ्चार मन्त्रालय र सम्बन्धित निकायसँग मिलेर अव्यवस्थित तार हटाउन कार्यलाई तीव्रता दिनुभएको थियो । सम्बन्धित निकायका पदाधिकारीलाई सँगै लिएर निरीक्षणमा जाने र फिल्डबाटै समन्वय गर्ने काम गरिरहेका छन् ।
