काठमाडौं । कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदका लागि पाँच जना उम्मेदवार अन्तिम चरणको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट भएका छन्। प्रशासक छनोट तथा सिफारिस समितिको साउन १३ गते बसेको बैठकले शैक्षिक योग्यता, कार्य अनुभव तथा व्यवसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा जीवनकुमार कट्वाल, दामोदरप्रसाद सुवेदी, भरतराज वस्ती, विजयकुमार श्रेष्ठ र सागरकुमार सिंहलाई अन्तिम चरणका लागि छनोट गरेको हो।
समितिका अनुसार प्रस्तुतिकरण तथा अन्तर्वार्ता अर्थ मन्त्रालयमा साउन १८ र १९ गते सञ्चालन हुनेछ। जीवनकुमार कट्वाल, दामोदरप्रसाद सुवेदी, भरतराज वस्ती र विजयकुमार श्रेष्ठको अन्तर्वार्ता साउन १८ गते तथा सागरकुमार सिंहको साउन १९ गते हुने तय गरिएको छ।
कर्मचारी सञ्चय कोषले प्रशासक पद खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न आवेदन आह्वान गरेको थियो। प्रारम्भिक मूल्याङ्कनमा योग्य ठहरिएका उम्मेदवारलाई अन्तिम चरणका लागि बोलाइएको हो।
