काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थाको समाधान, नागरिकको जिउधनको सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्न सरकार निरन्तर सक्रिय रहेको बताएका छन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सबै निकाय उच्च सतर्कताका साथ परिचालित भइसकेको उल्लेख गर्दै नागरिकलाई संयमता अपनाउन आग्रह गरे।
उनले सरकारको मुख्य प्राथमिकता प्रभावित नागरिकसम्म पुगेर सुरक्षा प्रत्याभूति दिलाउनु, घटनाको निष्पक्ष छानबिन गर्नु तथा शान्ति–सुरक्षाको अवस्था सुदृढ बनाउनु रहेको बताए। परिस्थितिलाई थप जटिल हुन नदिन सरकारले बहुपक्षीय रणनीति अवलम्बन गरेको पनि उनले स्पष्ट पारे।
छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वासको वातावरण निर्माण गर्न तथा जनताको दुःख–सुखमा साथ दिन आग्रह गरे। अप्ठ्यारो र आपत्कालीन अवस्थामा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनु जनप्रतिनिधिको प्रमुख दायित्व भएको उनको भनाइ थियो।
सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै तत्काल आफ्नो क्षेत्रमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनले प्रभावित क्षेत्रका नागरिकमा विश्वास र आशा जगाएको उनीहरूको भनाइ थियो।
छलफलमा सहभागी सांसदहरूले दीर्घकालीन शान्ति र सामाजिक सद्भाव कायम गर्न धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर संवाद आवश्यक रहेको सुझाव दिएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत फैलिने भ्रम र अफवाहबाट युवालाई जोगाउन स्थानीय तहमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएका छन्।

