आइतबार, २५ असोज २०८३ | ७:०७ PM
कर्पोरेट क्रिकेट लिग सिजन–३ भदौ १८ देखि, २० टोलीको सहभागिता…

कर्पोरेट क्रिकेट लिग सिजन–३ भदौ १८ देखि, २० टोलीको सहभागिता रहने

लगानीबक्स १७ साउन २०८३ ९:२५ अपराह्न

काठमाडौं । भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिग (सीसीएल) सिजन–३ आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिता बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेल मा सञ्चालन हुनेछ।

आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका २० कर्पोरेट टोली सहभागी हुने जानकारी दिएको हो। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। सिंगल राउन्ड रोबिन लिगपछि प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल (अन्तिम–८) मा प्रवेश गर्नेछन्। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४७ खेल खेलाइने आयोजकले जनाएको छ।

यसअघि भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिगका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। तेस्रो संस्करणलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सन्तोष भण्डारीले जानकारी दिए।
आयोजकले प्रतियोगितासम्बन्धी समाचार तथा खेलका गतिविधि आमदर्शकमाझ पुर्‍याउन सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण र प्रचार–प्रसारमा सहयोग गरिदिन आग्रह गरेको छ।

कर्पोरेट क्रिकेट लिग सिजन–३ का प्राविधिक निर्देशक रबिन्द्र गुप्ताले प्रतियोगिताको सम्पूर्ण प्राविधिक तयारी पूरा भएको बताएका छन्। उनका अनुसार प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित, निष्पक्ष र उच्चस्तरीय ढंगले सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी सम्पन्न भइसकेको छ।

उनले खेलाडी, अफिसियल तथा सहभागी सबै टोलीलाई उत्कृष्ट खेल अनुभव प्रदान गर्ने आयोजकको प्रतिबद्धता रहेको बताउँदै प्रतियोगिताको प्राविधिक व्यवस्थापनलाई गुणस्तरीय र पारदर्शी बनाउन विशेष ध्यान दिइएको जानकारी दिए।

प्रतियोगिताको फाइनलअघि दर्शकको मनोरञ्जनका लागि विशेष एक्जिबिसन खेल पनि आयोजना गरिनेछ। उक्त खेलमा कलाकार र कर्पोरेट एक्जिक्युटिभ्सबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई आकर्षक नगद तथा ट्रफीसहित पुरस्कार प्रदान गरिनेछ। साथै सर्वोत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट फिल्डर, उत्कृष्ट विकेटकिपरलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिनेछ। फेयर प्ले टिम तथा सर्वाधिक छक्का र चौका प्रहार गर्ने खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।