आइतबार, २५ असोज २०८३ | ७:२८ PM
काठमाडौंसहित २८ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौंसहित २८ जिल्लामा आकस्मिक बाढीको जोखिम

लगानीबक्स १८ साउन २०८३ १०:०३ पूर्वाह्न

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) काठमाडौं उपत्यकासहित २८ जिल्ला र आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार निरन्तर वर्षाका कारण ससाना खोला तथा नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बग्ने ससाना नदीहरूमा बहाव बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहने सम्भावना छ।

यस्तै ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) लगायतका जिल्लामा बग्ने ससाना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ।

महाशाखाले नदी किनार, तटीय क्षेत्र तथा डुबानको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा नदी–खोला आसपासका गतिविधिमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।