काठमाडौं । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बज्राचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। बज्राचार्यले नेपाल भाषामा शपथ ग्रहण गरेका थिए।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा हाम्रो नेपाली पार्टी (हानेपा) का संसदीय दलका नेता बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिएको हो। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी बिनु रायमाझी पौडेलले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी बज्राचार्यलाई दिइएको हो।
बज्राचार्यको शपथसँगै हाम्रो नेपाली पार्टी औपचारिक रूपमा बागमती प्रदेश सरकारमा सहभागी भएको छ। यसलाई प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ राजनीतिक विकासका रूपमा हेरिएको छ।
