आइतबार, २५ असोज २०८३ | ९:३० PM
वीरगञ्जमा ट्याङ्करबाट तेल चोरी गर्दै सात जना पक्राउ

वीरगञ्जमा ट्याङ्करबाट तेल चोरी गर्दै सात जना पक्राउ

लगानीबक्स २२ साउन २०८३ ९:१३ पूर्वाह्न

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ।

बिहीबार साँझ करिब ५ः१० बजे बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर तेल निकालिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा आयल सेन्टरका सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, लेखा कर्मचारी २३ वर्षीय असलम हवारी, क्यासियर २१ वर्षीय रफिक मियाँ, ट्याङ्कर चालकहरू ४६ वर्षीय केशर राम सुनार र ५० वर्षीय मन्द सिंह लामा तथा सहचालकहरू २० वर्षीय सन्देश राना मगर र २७ वर्षीय उमेश राना मगर रहेका छन्।

प्रहरीले घटनामा प्रयोग भएका ट्याङ्करसमेत नियन्त्रणमा लिएको छ। पेट्रोलियम पदार्थ चोरी तथा अवैध बिक्री–वितरणमा संलग्न नेटवर्कबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।