सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भई अनियन्त्रित भएर सडकको नालामा खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्। यस्तै, सुन्दरहरैँचा–१२ कै २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। हाइसमा चालकसहित १४ जना सवार रहेकोमा चार जना घाइते भएका हुन्। दुर्घटनापछि हाइस चालक मोरङ बेलबारी नगरपालिका–३ का २५ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सवारीसाधन घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
